कोरोना भाइरस नियन्त्रणमा सामाजिक संस्थाको भूमिका

यतिखेर विश्व कोरोना भाइरस (कोभिड–१९) महामारीसंग जुधिरहेको छ । नेपाल पनि विश्व महामारीमा अछुतौ छैन । नेपालमा पाँचसयको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन् भने तीनजनाको कोरोनाको कारण मृत्यु भइसक्यो । देशमा दुई महिनादेखि लकडाउन छ । यस्तो महामारीको बेला सरकारले मात्र केही गर्न सक्दैन। सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।

त्यसमा समाजिक संघसस्थाको भूमिका अपरिहार्य रहन्छ । सामाजिक संघसंस्थाले अहिले गर्नुपर्ने मुख्य काम भनेको आफ्नो स्वयमसेवक र युवा सञ्जाल मार्फत सरकारले अपनाएको कोराना भाइरस (कोभिड– १९)को रोकथामका मुख्य उपायहरुबारे सचेत गराउनु हो । गाउँ, वस्ती,समाज र टोल–टोलमा गएर सामाजिक संस्थाले सचेतना फैलाउने काम गर्नुपर्छ । सामाजिक दूरी कायम गरेर राहत तथां खाद्यान्नको सामान वितरण गर्ने र गराउने कार्यमा पनि स्वयमसेवकहरुलाई खटाउनुपर्छ ।

गत वैशाख महिनामा बेलायतमा राष्ट्रिय स्वयमसेवकहरुको लागि खुलेको आवेदनमा सात लाख मानिसले राष्ट्रका लागि स्वयमसेवक गर्न आवेदन भरेका थिए । यहाँबाट के बुझ्न सकिन्छ भने यो महामारीलाई एक्लै जित्न सकिदैन । तर सवैजना एकजुट भएर लड्यौ भने पक्कै पनि महामारी विरुद्ध जित हुनेछ ।

सामाजिक संघसंस्था र यसमा आवद्ध हजारौं स्वयंसेवकहरुको अनुभव,शिक्षा,सिप र कलालाई राज्यले समयमा सदुपयोग गर्नुपर्छ । सबै पक्षको अनुभवलाई परिचालन गर्न सकेमात्र जस्तोसुकै कठिन परिस्थितिलाई सजिलै टार्न सकिन्छ ।

विगत दुई महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड१९)संग जुध्न म आफै अध्यक्ष भएको संस्था युनाइटेड नेशनल मिसन सोसाइटी अफ नेपाल र मेरा सहकर्मीहरु तथा केही मेडिकल पेशाका साथीहरु र्‍यापिड रेस्पोन्स टिम गठन गरेर काम सुरु गरेका थियौं । फागुनको दोस्रो हप्तातिरको प्रशंग हो । त्यो बेला नेपालमा कोरोना संक्रमित थिएनन । त्यहिबेला देखि कोरोना भाइरस जनचेतना सम्बन्धि समूह तयार पारेर प्रदेश नम्बर दुईको आठवटै जिल्लामा कोरोना भाइरस महामारी सम्बन्धि आवस्यक जनशक्तिले सचेतना फैलाउने काम सम्पन्न भएको थियो ।

हाम्रो देशमा कोरोनासंग जित हाँसिल गर्ने हो भने राष्ट्रिय स्वयमसेवक को खाँचो छ । आउँदो केही महिनामा यो महामारीले उग्ररुप लियो भने हामीलाई लाखौंको संख्यामा दक्ष जनशक्ति चाहिनसक्छ । मेडिकल सामग्री प्रयोग गर्ने देखि यसको ओसारपसार , राहत वितरण , औषधि उत्पादन तथा मेडिकल औजारहरुको देशमै उत्पादन तथा निर्माण गर्न अहिलेबाटै यस्ता दक्ष र राष्ट्रिय सेवाको भावना बोकेका व्यक्तिको समयमै पहिचान गरी राज्यले उनीहरुको स्वास्थ्य तथा पारिवारिक भविष्यको ग्यारेन्टीका साथ एकीकृत गर्ने र गराउने काममा लगाउनुपर्छ ।

हाल एकसय भन्दा बढी दक्ष स्वास्थ्य सम्बन्धिको जनशक्ति बोकेको हाम्रो सस्थामा अरु हजारौ सामाजिक संघसस्था (खासगरी स्वास्थ्यको क्षेत्रमा काम गरीरहेका र बायोइन्जिनिएरिङका दक्ष जनशक्ति) हरुलाई एकीकृत गराउनु र विश्वासमा लिनुपर्ने कामलाई राज्यले अझ ढिलासुस्ती गर्नै हुदैन । राज्य गम्भीर बन्न सकेन भने देश चीन वा इटाली बन्न केहीबेर लाग्दैन । हालै रौतहट जिल्लाका केही गाउँहरुको विषय उठान गर्ने हो भने पनि विगत महिनामा ९० जना क्वारेनटाइनमा थिए तर वैशाखको अन्तिम सातादेखि जेठको पहिलो हप्तामै पाँचसय जनाको संख्यामा मानिसहरुलाई क्वारेनटाइन तथा आइसोलेसनमा राख्नुपर्ने अवस्था देखियो ।

यो अनुमान गर्दा एउटा जिल्लामै लक्षण भएको व्यक्तिको संख्या जम्मा दुईहप्तामै यसरी बढीरहेको छ भने ७७ वटै जिल्लामा दुई महिनापछि हुने अवस्था कति जति होला र त्यस्तो बेला हाम्रो जस्तो विकासोन्मुख मुलुकले लाखौ मानिसलाई कसरी स्वयमसेवकमा परिचालन गर्ने । लाखौ मानिसलाई कसरी भोकमारी र आत्महत्याबाट जोगाउने ? तसर्थ अहिले पनि ढिला भइसकेको छैन । सरकार र जनता आफ्नो जिम्मेवारी बहन गरी कर्ममा लाग्नुपर्छ ।

काममा लाग्नुपर्छ र देशलाई कठिन अवस्थाबाट जोगाउन एकजुट भई यसको समााधान तिर लाग्नुपर्छ । यो तबमात्र सम्भव हुन्छ जब सबै सामाजिक संघसस्थाहरु र यसमा आबद्ध सदस्यहरु आफू बसेको हरेक टोलटोलमा सक्रिय र एकजुट भई कोरोना भाइरस सम्बन्धि विश्व स्वास्थ्य संगठनको मान्यतामा रहेर जनचेतना फैलाउने काम गरिन्छ ।